
धनकुटा माघ १९ गते । व्यवसायी बङ्गुर पालक किसान र उपभोक्ता माझ लोकप्रिय एक जात हो पाख्रिवासे कालो बङ्गुर । विदेश वाट आयात भएका विकासे जातको जस्तो राम्रो उत्पादन, नेपाली हावापानीमा उपयुक्त तथा विकासे जात भन्दा स्वादिलो भएका कारण यो पूर्वमा निक्कै लोकप्रिय छ । यो जात नेपालमा विकास भएको हाल सम्मकै एक्लो जात हो । कृषि अनुसन्धान केन्द्र पाख्रिवास धनकुटाले सन् १९८० सालमा सेडलब्याक, फायुन र ट्यामवर्थ गरी तीन अलग जातको सम्मिश्रणबाट बङ्गुरको पाख्रीबास कालो जात तयार पारेको राष्ट्रिय बङ्गुर अनुसन्धान कार्यक्रम पाख्रिवासले जनाएको छ ।
राष्ट्रिय बङ्गुर अनुसन्धान कार्यक्रम पाख्रिवासका प्रमुख डाक्टर मनोज कुमार शाहका अनुसार यो नेपालमा हाल सम्म विकास भएको एक मात्र जात हो । “स्थानीय जातहरू च्वाँचे, हुर्रा र बामपुड्के लगायतका नेपालकै स्थानीय जात पहिले देखिनै हुँदै आएका हुन् पछि सिफारीस गरिएको हो तर पाख्रिवासे कालो बङ्गुर विदेशी जात नेपालमा ल्याएर नेपाल अनुकूल हुने गरी नेपालमै विकास भएको एक मात्र जात हो” शाह भन्नु हुन्छ । यो गर्मी जाडो जुनसुकै मौसममा हुने भएकाले कृषक तथा प्रयोगकर्ता माझ लोकप्रिय रहेको शाहको भनाई छ ।
अनौठो कुरो त किसान र उपभोक्ताको रोजाइमा परे पनि आफ्नै ट्रेडमार्क र वास्तविक नाम सहित बजारमा पुग्न सकेको छैन । अहिले धराने कालो बङ्गुरको नाममा वजारमा पाइने जात नै पाख्रीबास कालो बङ्गुर हो । पहिले पूर्वी पहाड वाट बङ्गुर धरान भेला पारेर अन्यत्र लैजाने गरिएकोमा व्यापारीहरूले पाख्रिवासे कालो बङ्गुरलाईनै धराने कालो बङ्गुर भनी बिक्री गर्ने गरेको कारण नाम परिवर्तन भएको दाबी कार्यालयको छ । बजारमा भन्ने गरेको धराने कालो अहिलेसम्म कुनै बङ्गुरको जात सरकारी निकायमा दर्ता र सिफारिस भएको पाइँदैन ।
कालो रङ्ग, मझौला खालको शारीरिक बनावट, रैथाने र स्थानीयको तुलनामा छिटो बढ्ने, धेरै पाठा जन्माउने, प्रतिकूल वातावरण र गाउँले व्यवस्थापनमा पनि सजिलै पाल्न सकिने, रोग तथा परजीवी प्रतिरोध क्षमता बढी हुने यो बङ्गुरको प्रमुख विशेषता रहेको केन्द्रका प्राविधिक मनोज भण्डारी बताउनु हुन्छ । नेपालका स्थानीय जात जस्तै गरी पाल्न सकिने तथा विकासे जात झै उत्पादन भएकाले यसको माग धेरै रहेको भण्डारी बताउनु हुन्छ ।
पछिल्लो समय धनकुटाले यसको बजार पहिचान स्थापित गराउनु पर्ने माग हुन थालेको छ । त्यस्तै यसको जातीय विकास, वास्तविक नाम र विशेषताहरू ओझेल पर्न नदिन सम्बन्धित निकाय नै सचेत हुनुपर्ने आवाज समेत उत्तिकै उठ्न थालेको छ । यसलाई धनकुटाले एक ब्रान्ड बनाएर विकास गर्न सके समग्र धनकुटालाई मात्रै नभई समग्र पुर्बलाईनै फाइदा पुग्ने कृषि अभियातना जीवन प्रसाद राई बताउनु हुन्छ । “यो अहिले सम्म पूर्वमा मात्र पालन गर्ने गरिएको छ । यसलाई एउटा ब्रान्ड बनाएर नेपालका अन्य क्षेत्रमा लैजाने हो भने समग्र पुर्बलाई फाइदा हुन्छ” राई भन्नु हुन्छ ।
SHARE
RELATED_NEWS
अभिलेख








श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै


COMMENT
.