होमपेज
समाचार
राजनीति
विचार
अन्तर्वार्ता
मनोरञ्जन
साहित्य
आर्थिक
विविध
ग्यालरी
Advertisement

आठपहरियाको मुख्य चाड वडाङमी (मङ्सिरे पर्व) सुरु

लेखक
PalikaNews
श्रेणी
विविध
मिति
२०८३-०८-०१
हेरिएको
3 पटक

 

धनकुटा समाचारदाता 

मङ्सिर १ गते । धनकुटा नगर क्षेत्रमा मात्र बसोबास रहेको आठपहरियाको मुख्य चाड वडाङमी (मङ्सिरे पर्व) सुरु भएको छ । एक महिनासम्म चल्ने मुख्य चाड वडाङ्मेट आठपहरियाको ठुलो घर अर्थात् ५२ चुले घरमा माङ्लाङ उठाएपछि चाड सुरु भएको हो । आठपहरिया जातिको वैशाखे, भदौरे र मङ्सिरे गरी तीनमध्ये वडाङमी अर्थात् मङ्सिरे चाड महत्त्वपूर्ण तथा ठुलो चाडको रूपमा मनाउने गर्दछन् । 

आठपहरियाहरू वर्ष भरी आफ्ना बाबुआमा गुमाउनेले धनकुटाबाट हिँडेर सुनसरीको वराहक्षेत्र जाने गर्दछन् । वराहक्षेत्र पुगेर कोकाहा खोलामा कपाल र दाह्री खौरिएर दसी बगाउने गरिन्छ भने बराह भगवानको दर्शन गरी शिला आफ्नो घरमा लिएर आउने प्रचलन रहिआएको छ । द्वादशीको दिन शुक्रवार धनकुटाबाट बराह क्षेत्रतर्फ हिँड्दै जाने आइतबार वराहक्षेत्र पुगी कोकाहा खोलामा कपाल दाह्री खौरिएर स्नान गरेर बराह भगवानको दर्शन गरेर सोही ठाउँमा बस्न आइपुग्ने आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले बताउनुभयो ।

यस्तै, सोमबार शिला (देउता) लिएर फर्किएपछि धनकुटा नगरपालिका–९, स्थित तमोर नदी किनारमा रहेका मुलघाटमा बास बसी मङ्गलवार घर आइपुग्ने उहाँले बताउनुभयो । यस्तै धनकुटामै हुनेहरूले भने सोमबार मार्गा पूजा गर्ने गरेका छन् । मङ्गलवार अर्थात् पूर्णिमाको दिन बिहान घर आएपछि दुःखको कर्म फुकाउने काम हुन्छ । यससँगै भोज खुवाउने र आठपहरियाको कला, संस्कृति, भेसभुसा र रीतिथिति अनुसारको नाचगान गर्ने प्रचलन रहेको धनकुटा नगरपालिका–८, का वडाध्यक्ष समेत रहनुभएका रसबहादुर आठपहरियाले बताउनुभयो ।

उक्त नाच आठपहरियाको घरैपिछे पुगेर औँसीसम्म नाच्ने गरेका छन् । चाडका अवसरमा आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् पुस्ताको डल्ले नाच नाच्ने चलन रहेको उहाँको भनाई छ । सीमान्तकृत आठपहरिया जाति धनकुटा नगर क्षेत्रमा मात्रै बसोबास रहेकाले धनकुटा नगरपालिकाले वडाङमी (मङ्सिरे) चाडको अवसरमा नगरभित्र एक दिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।


 

प्रतिक्रियाहरू (0)