
भदाै ५ गते, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर दुईका यत्न बहादुर कटुवालको खेतमा धान रोप्दा यो पटक बेग्लै रौनक थियो । बर्खामा धान रोपाइ गर्न सबै रोपार, बाउसे, जोता समस्या हुने गरेकोमा यो पटक सो समस्या भोग्नु परेन । अझ उत्साहका साथ गाउँले भेला भए खेत जोत्न, बाउसे गर्न रोपाई गर्न सघाए । यो सबैको कारण थियो कटुवालले रोपाइँमा बेठी लगाउनु । लोप हुँदै गएको बेठी परम्पराले सबै गाउँलेलाई आकर्षण ग¥यो र कटुवाललाई खेत रोपाई सहज मात्रै भएन गाउँलेलाई निक्कै रमाइलो समेत भयो । गाउँ भरीका मान्छे भेला भएर रोपाई सँगै नौमती बाजा बजाएर कोही असारे भाकामा दोहोरी खेलिरहेका थिए त कोही हिलो खेल्दै बेठी लगाउँदै धान रोपाइँ गरिरहेका थिए । दृश्य निकै रोमाञ्चक थियो ।
कटुवालले करिब ५५ रोपनीमा धान खेती गर्दै आउनु भएको छ । उहाँले बेठी लगाएको दिन २५ रोपनी खेत एकै दिनमा रोपाई भयो । सामान्यतया २५ रोपनी खेत रोपाई गर्न करिब एक हप्ता लाग्ने गरेकोमा यो पटक बेठीको कारण एक दिनमै रोपाई सकिएको कटुवाल बताउनु हुन्छ । बेठी लगाएको दिन नौ हल गोरु एक सय भन्दा बढी रोपार र बाउसे भेला भएको कटुवालको भनाई छ । “बेठीको कारण रोपाइ निक्कै सहज भयो आधा खेत एकै दिनमा रोपियो बाकी अलिअलि गर्दै रोपियो अघिल्ला वर्षहरूमा हुने कामदार समस्या सामना गर्नु परेन रमाइलो भएपछि सबै स्थानीय भेला भई निस्वार्थ सहयोग आदानप्रदान भयो” कटुवाल भन्नु हुन्छ ।
धनकुटाको महालक्ष्मीमा मात्र नभई जिल्लामै करिब चार दशक पछि बेठी लागेको हो । कटुवाल सहित स्थानीय पदम श्रेष्ठ र खोज बहादुर श्रेष्ठले समेत बेठी लगाई खेत रोपाई गर्नु भयो । जिल्लामा असार १५ मा बेठीको झल्को दिने गरी गरिने कार्यक्रम बाहेक कृषकले बेठी लगाउने परम्परा अन्त्य भएको थियो । तर यो वर्ष वाट धनकुटामा पुन बेठी परम्परा सुरु भएको हो । जग्गा बाझिने क्रम बढ्दै गएकाले रोपाइँमा उत्साह ल्याउन तथा लोपोन्मुख परम्परा जोगाउन बेठी लगाइएको पदम श्रेष्ठ बताउनु हुन्छ ।
गाउँमा एकै वर्ष तिन वटा बेठी लाग्दा गाउँले पनि निक्कै उत्साहित थिए । तिनै वटा बेठी लागेको स्थानमा स्थानीयको उत्तिकै सहभागिता रहेको र उल्लासमय वातावरण बनेका महालक्ष्मी नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष तथा स्थानीय पदम रखाल बताउनु हुन्छ । “यो वर्षको रोपाई रोपाइजस्तो नभएर चाडपर्व जस्तै गरी बित्यो किनकि गाउँमा बेठी लागेको थियो बेग्लै उल्लास थियो” मगर भन्नु हुन्छ ।
धनकुटा लेगुवाका दुर्गा पुरी बेठीले पुरानो परम्परा जोगाउन मदत गरेको बताउनु हुन्छ । पछिल्ला पुस्ता माझ बिरानो बन्दै गएको बेठी एक सिकाइको माध्यम बन्ने उहाँको भनाई छ ।
चार दशक अघिबाट हराएको थियो बेठी
धनकुटामा करिब चार दशक अघि सम्म बर्खा लागे सँगै धनकुटाका गाउँहरूमा बेग्लै रौनक हुन्थ्यो । गाउँ भरीका मान्छे भेला भई रोपाई सँगै नौमती बाजा बजाएर असारे भाकामा दोहोरीसहित बेठी लगाउँदै धान रोपाइँ गर्ने चलन रहेको थियो । तर, पछिल्लो समय बेठी परम्परा दुर्लभ भएको हो । धनकुटा लगायत आसपासका जिल्लामा जेठबाट रोपाइँ सुरु भएर साउनसम्म हुने गरेको छ । तर, रोपाइँमा पहिले पहिले जस्तो नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने ‘बेठी’ परम्परा अहिले देख्न पाइन छाडेको धनकुटा नगरपालिका वडा नम्बर पाँचका ज्येष्ठ नागरिक भोलानाथ घिमिरे बताउनु हुन्छ । करिब २०४० साल सम्म धनकुटाका गाउँहरूमा नौमती बाजा बजाएर असारे भाकामा दोहोरीसहित बेठी लगाउँदै धान रोपाइँ गर्ने चलन रहेकोमा त्यस पछि भने हराउँदै गएको उहाँको भनाई छ ।
विरोधका कारण हराएको थियो बेठी
बेठी लगाउने परम्परा हराउनुको पछाडि अनौठो कारण छ । पहिले पहिले मुखिया, जिम्वाल, बाबुसाहेब आदिको रोपाइँमा बेठी लाग्ने गरेको थियो । रोपाइँमा समाजका मानिसलाई बोलाउने गरेपछि ज्याला र अन्य सुविधाको माग हुन थाल्यो । किसानले धनी मानीको क्षणिक रमाइलोको रूपमा बेठी परम्परालाई अर्थ्याउन थाले र क्रमशः समाजबाट बेठी लगाउने प्रथाको अन्त्य भएको धनकुटाको साँगुरी गढी गाउँपालिका ३ कुसेटारका स्थानीय कृष्ण गोविन्द ढुङ्गाना बताउनु हुन्छ । बेठी सँगै भकारी बाँध्ने चलन असारे गीत, बाजा बजाउने परम्परा समेत हराउँदै गएको उहाँको भनाई छ ।
SHARE
RELATED_NEWS
अभिलेख








समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार


COMMENT
.