• ११ जेठ २०८२, शनिवार
  • विज्ञापनको लागि: 9842417115

व्यस्तताले ओझेलमा लाफा गाउँको घर बास कार्यक्रम

२२ माघ २०८१, मङ्गलवार
93
धनकुटा, माघ २२ गते । धनकुटाको चौबिसे गाउँपालिका वडा नं.२ मुढेवास स्थित लाफा गाउँमा एकल मगर जातिको मात्र बसोबास छ । ९५ घरधुरी रहेको यो गाउँमा घर बास सेवा(होमस्टे) सञ्चालनमा ल्याउने कुरा चलेको धेरै वर्ष भयो । स्थानीय तहको पहिलो चुनाव पछि यस स्थान लक्षित गरेर होमस्टे सेवा सञ्चालन गर्ने योजना संगै प्रदेश सरकारको सहयोगमा यहाँ मगर जातिको कला संस्कृतिको प्रवर्द्धन गर्न मगर जातिको संग्राहलय समेत बनेको छ । तर होमस्टे सञ्चालन गर्ने चर्चा चलेको सात वर्ष भन्दा बढी हुँदा समेत कार्यक्रम सञ्चालन हुन सकेको छैन । 

अहिले पालिकाले दोस्रो कार्यकालको जनप्रतिनिधि पाइसकेको छ । लाफा गाउँमा होम स्टे सञ्चालन गर्ने चर्चा अहिले पनि छ । तर स्थानीय बासीहरुको व्यस्तताका कारण कुरामा मात्र सीमित हुन पुगेको पालिका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिनुभयो । ‘गत साल होम स्टे चलाउन तालिमको लागि बजेट छुट्यायौं तर कसैले नभ्याएकाले काम नै गर्न सकिएन’ लिम्बु भन्नु हुन्छ । यस पटक भने जिल्ला घरेलु कार्यालय धनकुटा सँग सहकार्य गरेर होम स्टे सेवाको तालिम सञ्चालन गर्न लागिएको समेत लिम्बूले जानकारी दिनुभयो । लामो समय देखि यस मगर बस्तीमा होम स्टे सञ्चालन गर्न खोजे पनि व्यावसायिक रूपमा सञ्चालनमा आउन नसकेको स्थानीय पूजन मगरले पनि जानकारी दिनुभयो । निर्माणाधीन भेडे टार–रबी–राँके राजमार्गमा पर्ने यस क्षेत्रमा हुने विभिन्न कार्यक्रममा खान र बस्न समस्या हुने देखिएकाले निकट भविष्यमा होम स्टे सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको मगरले जानकारी दिनुभयो ।

यहाँका मगर जातिहरू परम्परागत रूपमा कृषि पेसामा आबद्ध रहिआएको र कृषिबाटै मनग्य आमदानी हुने भएकाले यस तर्फ ध्यान नदिँदा होम स्टे सञ्चालन चर्चामा सीमित रहेको अर्का स्थानीय अमृत देव थापाको भनाई छ । लेकाली क्षेत्रमा पर्ने यस गाउँमा खानेपानी अभाव भए पनि चिस्यान रहिरहने भएकाले बर्खे सिजनमा यहाँ कोपी र आलुको प्रशस्त मात्रमा खेती हुने गरेको छ । हिउँद भरी खेतबारी मलिलो बनाउन र बर्खामा खेती गर्न व्यस्त भएकाले पनि अन्य क्षेत्रको स्वाद पाउन नसक्दा होम स्टे सञ्चालनमा नआएको तर अब भने बिस्तारै सबै जना सञ्चालनको तरखरमा रहेको उहाँको भनाई छ ।

यस ठाउँमा घर बास सेवा नितान्त आवश्यक भए पनि समुदायका मानिसहरू अत्यन्तै व्यस्त भएकाले होम स्टे सञ्चालनमा ढिलाइ भएको गाउँवासी तथा पालिकाकी उपाध्यक्ष टंकमायाँ पाङ्मी मगरको पनि भनाई छ । होम स्टे मार्फत यहाँको पर्यटन विकास तथा मगर जातिको संस्कृति प्रवर्द्धन गर्दै उनीहरूलाई आर्थिक उपार्जनको क्षेत्रमा पनि जोड्न सकिने भएकाले यहाँ घर बास सेवा सञ्चालन कार्यान्वयनको तयारीमा रहेको मगरले जानकारी दिनुभयो ।





COMMENT

.