• १८ मंसिर २०८२, बुधवार
  • विज्ञापनको लागि: 9842417115

रामनवमी बिर्सेको हिले

२४ चैत २०८१, आइतवार
1135

धनकुटा, चैत्र २४ गते । धनकुटाको धनकुटा नगरपालिका वडा नम्बर एकको पर्यटकीय स्थल हिलेमा प्रत्येक वर्ष रामनवमीका बेग्लै रौनक हुन्थ्यो । बिभिन्न सांस्कृतिक कार्यक्रममा रमाउने रमाइरहेका हुन्थे । खेलकुदमा रमाउने भलिबलमा रमाइरहेका हुन्थे । त्यस्तै पर्यटकीय स्थलमा रमाउनेहरू हिले आसपासको चिया बगान बक्रकुण्ड मन्दिर, तोङ्बा चौकमा फोटो खिचिरहेका हुन्थे । तर यो वर्ष हिले सुनसान रह्यो । कहिल्यै नछुट्ने, कहिल्यै नथाक्ने गरेको हिलेको रामनवमीका मेला यसपालि भने बिलाएको छ । यो मेला हिले बजार बस्नुअघि नै लाग्ने गरेको स्थानीयको भनाई छ । करिब २०२८ सालबाट हिले बजार बस्न थालेको हो तर यहाँ लाग्ने मेला भने त्यो भन्दा पहिले बाटनै लाग्ने गरेको स्थानीय लालचन्द्र गोङ्बाको भनाई छ । सुरुसुरुमा तिन दिन लाग्ने गरेको मेलामा रात दिन धान नाच, दोहोरी, जुहारी तथा गाउँलेहरू हाँसोठट्टामा रमाउँथे । “हामी बच्चा हुँदा रामनवमीका आयो भन्नासाथ हिलेमा माहोलै बेग्लै हुन्थ्यो, गाउँगाउँबाट मान्छे आउँथे, रातभर गीत हुन्थ्यो, बिहान मेला घन्किन्थ्यो तर अहिले सुनसान भयो गोङ्वा भन्नु हुन्छ । 

    संकटकालेको बेलामा धेरै स्थानका मेलाहरु बन्द भए तर पनि हिलेको रामनबमीको मेला भने कहिले बन्द नभइ निरन्तर सञ्चालन हुदै आएको स्थानियको भनाई छ । त्यसो त हिलेमा सधै एकैनासको मेला हुदैनथ्यो । विगत केही वर्षमा मेलाको स्वरूप भने फेरिँदै आएको थियो। पुराना नृत्य र खेलको सट्टा भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, रथयात्रा हुँदै ’हिले उत्सवको नामले आधुनिक रंग लिएको थियो । गाँउ गाँउवाट भेला भएर मनोरञ्जन लिन आउनेहरुलाई खेल क्षेत्र वाट मनोरञ्जन लिन करिब २०५५ सालबाट भलिबल प्रतियोगिता आयोजना हुन थाल्यो । भलिबल अन्तराष्ट्रिय स्तरको हुने गरेको थियो तर यति लामो इतिहास बोकेको हिलेको रामनवमी भलिवल प्रतियोगिता यो बर्ष बाट भने बन्द भयो । आर्थिक सहयोग नभएका कारण प्रतियोगिता आयोजन गर्न नसकिएको हिले भलिबल क्लबका अध्यक्ष सजीव तामाङ बताउनु हुन्छ । “स्थानीय तहले केही रकम त छुट्याइदिएको छ तर त्यसले पुरस्कार समेत पुग्ने अवस्था छैन अरु सहयोग जुट्दैन” तामाङ भन्नु हुन्छ । 

       त्यस्तै केही बर्स हिलेमा रामनवमीको दिन रथ यात्रा समेत निकाल्ने गरिएको थियो । अहिले यात्रा पनि केही वर्ष यता रोकिएको छ । त्यस्तै बिभिन्न फुटबल सहित भिभिन्न कार्यक्रम र हिले उत्सव समेत सुरु भएका थियो । यी सबै कार्यक्रम आर्थिक सहयोग अभावका कारण हुन नसकेको होटल एसोसिएसन धनकटाका अध्यक्ष खेगेन्द्र बिष्ट बताउनु हुन्छ । बिष्टका अनुसार यो पटक संस्था र समाजबीचको समन्वय नहुदा आवश्यक सहयोग नहुँदा हिले उत्सव गर्न नसकिएको हो । 

      धनकुटा नगरपालिका वडा नं. १ का अध्यक्ष ओङ्दा तामाङका अनुसार पालिका र वडाले खेलकुद र रामनवमीको लागि बजेट छुट्याए पनि आयोजकहरूले कार्यक्रम नै गरेको गुनासो गर्नु भयो । नगर र वडाले गरेर करीब ४ लाख रुपैया छुट्याए पनि आयोजकले चासो नदिएको उहाँको आरोप छ । महानवमी मेलाले हिलेलाई केवल रमाइलो दिएको थिएन । यसले हिलेलाई सांस्कृतिक उर्जासँग बाँधेको थियो । मेला एक मनोरनजन मात्र नभइ हिलेको एउटा पहिचान थियो, जुन पुस्ता–पुस्ताबीच सम्प्रेषण हुँदै आएकोमा यसपटक त्यो परम्परा चुँडिएको महसुस भएको स्थानीय धिरेन थिङ बताउनु हुन्छ । अहिले अन्यत्र कार्यक्रम गर्न थाले तर हिलेमा भने हुदै आएको कार्यक्रम समेत बन्द भयो थिङ थप्नु हुन्छ । 


COMMENT

.