
धनकुटा माघ २७ गते । धनकुटाको साँगुरी गढी गाउँपालिका–८ लुखाका आशिष राई शारीरिक रूपमा अशक्त हुनुहुन्छ । २२ वर्षीय राईको बोली आउँदैन, हातखुट्टा चल्दैनन् । उहाँको दैनिकी ओछ्यानमा लडेरै बित्ने गरेको छ । आज सम्म राईले औपचारिक शिक्षा समेत लिनु भएको छैन । तर पनि राई सँग एक अद्भुत क्षमता छ, अनौठो कला छ । राई सुन्दर चित्र बनाउनु हुन्छ । चित्र कोर्नु आफैमा सामान्य कर्म हैन यसको लागी विशेष कला चाहिन्छ । त्यसमा पनि हात खुट्टा नचल्नेहरूको लागि त यो कला कल्पनामा मात्र सीमित हुन्छ । तर धनकुटाका आशिष राई को लागी चित्र कोर्नु सामान्य जस्तै बनेको छ ।
उहाँ मुखले पेन्सिल च्याप्नु हुन्छ । अनि त्यही पेन्सिलले मनमा लागेको चित्र कापीमा उतार्नु हुन्छ । चित्रहरू सुन्दर र आकर्षक हुन्छन् । कापीका पानै पिच्छे विभिन्न हिमाल, पहाड, तराई, विभिन्न जनावर, फूलहरूका चित्र बनाउनु भएको छ । चित्र बनाउन थालेको एक वर्ष मात्रै भएको छ । बहिनीले बनाएको देखेर चित्र बनाउन सुरु गरेको आशिषकी आमा लक्ष्मी राईले बताउनु हुन्छ । “सुरुमा बैनीले चित्र बनाएको देख्यो पछि आफैले कुकुरको चित्र बनायो सुरुमा त विश्वास लागेन तर पछि युट्युबमा हेर्दै बनाएको रहेछ” राई भन्नु हुन्छ । छोरालाई हातखुट्टा नदिए पनि दिमाग दिएको रहेछ यसैमा खुसी छु राई थप्नु हुन्छ ।
करिब तिन वर्षको उमेर वाट उहाँमा यो समस्या देखा परेको थियो । करिब ५ वर्षको उमेर सम्म घिस्रिएर हिडेपनि पनि त्यो पछि भने राई पूर्ण रूपमा थला पर्नु भएको हो । विभिन्न स्थानमा लगेर उपचार गराए पनि निको नभएको परिवारले जनाएको छ । दुई तले घरको माथिल्लो तलामा आशिषको बसोबास छ । उहाँको शारीरिक रूपमा कोठाभन्दा बाहिर निस्किन सक्ने अवस्था छैन । खाना खान तथा दिसा पिसाब गर्न अरूको सहयोग चाहिन्छ । दिनहरू चित्र कोरेर कोरेका चित्र सामाजिक सञ्जालमा पोस्ट गरेर बित्ने गरेको छ ।
राई शारीरिक रूपमा अशक्त भएका ब्याक्तिहरुले केही गर्न सकिँदैन भन्नेहरूको लागि प्रेरणाको स्रोत रहेको सागुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई बताउनु हुन्छ । पालिका मार्फत उहाँलाई थोरै भए पनि आवश्यक सामाग्री म्याट, आई प्याड लगायतका सामाग्री दिँदै गरेको राईले जानकारी दिनुभयो । करुणा फाउन्डेसन सँगको समन्वयमा परिवारको लागी बाख्रा पालनमा सहयोग गरिरहेको छ । चित्रकलामा विशेष रुचि रहेकाले सो सम्बन्धित कार्यक्रमहरूमा उहाँलाई प्राथमिकता दिने पालिकाले जनाएको छ ।
उहाँले अहिले सम्म कुनै औपचारिक शिक्षा समेत लिनु भएको छैन । अर्को अनौठो कुरो त ओठ र चिउँडोको सहाराले माेवाईल, ट्याब चलाउनुहुन्छ । आफूलाई मन पर्ने गीतहरू सुन्नुहुन्छ । फेसबुक र युट्युब एकाउन्ट खोल्नुभएको छ । फेसबुक च्याटको माध्यमबाट साथीभाइहरूसँग कुराकानी गर्नुहुन्छ । सामाजिक सञ्जालमा चित्रहरू पोस्ट गरेर आफ्नो सिर्जना अरूलाई देखाउनु हुन्छ । अरूले बोलेको कुरा सुन्नुहुन्छ र बुझ्न सक्नुहुन्छ । उहाँको क्षमता देखेर उहाँलाई भेट्ने सबै ब्याक्ति छक्क पर्छन् । हेर्न आउनेले चित्र हेर्दै फोटो खिच्दा आशिषको अनुहारमा खुसीमा भाव झल्किने गर्छ । तर कोशिस गर्यो भने आफलाई मन लागेको काम गर्न सकिन्छ हात खुट्टाले नछेक्ने रहेछ भन्ने लागेको राईले म्यासेन्जरमा लेखेर जानकारी दिनुभयो ।
आर्थिक रूपमा कमजोर रहेको आशिषको परिवारमा सरकारले मासिक उपलब्ध गराउने भरण पोषणका लागि सहयोग पुगेको छ । आशिषको परिवारमा पाँच जना सदस्य छन् । आशिष घरको जेठो छोरा हुनुहुन्छ । घरको मुख्य आम्दानीको स्रोत कृषि हो । सरकारले मासिक उपलब्ध गराउने भरण पोषणका लागि सहयोग पुगेको आशिषका बुवा दलबहादुर राईले बताउनु हुन्छ । “कृषि वाट आम्दानी कति नै हुन्छ र अलिअलि खर्च सरकार वाट आउँछ त्यही पैसाले भरणपोसणमा केही सहयोग पुग्छ” राई भन्नु हुन्छ । यसो हेर्न आउने कसैले कमल दिन्छन् कसैले कापी दिन्छन् छोराले त्यसैमा चित्र बताउँछ राई थप्नुहुन्छ ।
SHARE
RELATED_NEWS
अभिलेख








समाचार
श्रम स्वीकृति तथा उद्धार सेवा स्थानीय पालिकाबाट, वैदेशिक रोजगारी सहज बन्दै
१७ माघ २०८१, बिहिवार


COMMENT
.