• ११ जेठ २०८२, शनिवार
  • विज्ञापनको लागि: 9842417115

उकालो चढ्दै सुन्तला

२९ माघ २०८१, मङ्गलवार
173


धनकुटा, माघ २९ गते । धनकुटा नगरपालिका वडा नम्बर ५ का कृषक गोबिन्द श्रेष्ठले आफ्नो बारीमा लगाएको सम्पूर्ण सुन्तला खेती अहिले हटाउनु भएको छ । करीब एक दशक अघि सम्म सुन्तला उत्पादन राम्रो हुने यो क्षेत्रमा अहिले सुन्तला बालीले आम्दानी दिन छाडेपछि उहाँले आफ्ना बाबु वाजेले लगाएको सुन्तला बगान नष्ट गर्नु प¥यो । सुन्तालाले उत्पादन दिन छाडेपछि उहाँले नयाँ प्रजाती समेत परीक्षण गर्नु भयो प्रबिधिकको सल्लाह अनुसार रोग किराको उपचारमा समेत लाग्नु भयो । तर कुनै पनि उपाय नलागे पछि उहाँ सुन्तला खेती छाड्न बाध्य हुनु भयो । करिब ११ सय मिटरको उचाइमा रहेको यो स्थानमा अहिले सुन्तलाको नामनिसान समेत पाउन छाडेको छ । “हामीले सुन्तला जोगाउन धेरै प्रयास ग¥यौ, पुरानो बोट फलेर नयाँ समेत लगायौ, विभिन्न उपचार ग¥यौ तर केही गरे पनि यो ठाउँमा सुन्तला जोगाउन सकिएन” श्रेष्ठ भन्नु हुन्छ ।

       कर्मिटार आसपासको क्षेत्रमा एक दशक अघि सम्म राम्रो सुन्तला खेती हुने गरेको थियो । तर पछिल्लो समय विभिन्न रोग किराका कारण बगाननै सखाप भएको छ । पहिले स्थानिय सबैको बगानमा सुन्तलाको बोट थियो । उत्पाद राम्रो हुन्थ्यो तर अहिले श्रेष्ठको जस्तै स्थानिय कसैको बगैचामा पनि सुन्तला पाइदैन ।   सुन्तला उत्पादन हुन छाडेपछि अलिअलि भएको बोट मासेर अन्य बाली तर्फ लागेको अर्का स्थानिय सरोज आठपहरीया बताउनु हुन्छ ।

    सुन्तला खेती पहाडी क्षेत्रमा भुवनोट तथा हावापानीको आधारमा ८०० मिटरको उचाइ देखि  हुने गरेको थियो तर पछिल्लो समय यो वाली समेत उच्च क्षेत्र तर्फ बढ्दै गएको तथ्याङ्कहरूले देखाउने गरेको छ । कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्क अनुसार धनकुटाको शहिदभुमी गाउँपालिका खोकु, छिन्ताङ्ग लगायतको स्थानमा करिब ७०० देखि ९०० मिटरको उचाईमानै सुन्तला खेती हुने गरेको थियो । तर पछिल्लो समय सो क्षेत्रमा समेत सुन्तला खेती हुन छाडेको छ । अहिले त्यहाँ करिब १००० मिटर भदा माथि मात्र हुने गरेको छ । यहाँ जस्तै धनकुटाका करिब ११०० र त्यो आसपास भन्दा तल्लो क्षेत्रमा विभिन्न समस्या देखिन थालेको कृषकको गुनासो छ । बोट सुक्ने जरा कुहिने सुन्तलाको आकार घट्दै जाने फल्दै नफल्ने लगायतका समस्या हुने गरेको कृषकको गुनासो छ । नयाँ बगान लगाउँदा समेत केही वर्ष दुखले फले पनि समस्या दोहोरीने गरेको कृषक जितेन्द्र राईको भनाई छ ।  

     पहिले १३०० मिटर भन्दा माथि नहुने गरेकोमा अहिले भने १५०० मिटर सम्म सुन्तला उत्पादन हुन थालेको कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्कमा उल्लेख छ । जलवायु परिवर्तन आदिका कारणले सुन्तला तल्लो क्षेत्र वाट माथिल्लो क्षेत्र तर्फ सदै गएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगर बताउनु हुन्छ । “पहिले पहिले स्थान अनुसार ७ सय मिटर सम्म सुन्तला हुने गरेको थियो तर अहिले ११ सय मिटर भन्दा तल खेतिनै मासिएको छ” कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगर भन्नु हुन्छ । तर सुन्तला मासिनुमा जलवायु परिवर्तनको असर मात्र नभएर कृषकको आफ्नै कारण पनि रहेको उहाँको भनाई छ । “जलवायु परिवर्तन सँगै बगान व्यवस्थापनमा ध्यान नदिइँदा सबैभन्दा ठुलो समस्या भएको हो” प्रमुख मगर थप्नु हुन्छ । 

जलवायु परीवर्तनको असर सुन्तलामा 

     त्यसो त सुन्तलाको बगान नष्ट हुनुमा सबै भन्दा बढि भुमीका सिट्रस सिल्ला नामक किराको रहेको छ । सिट्रस सिल्लाले सिट्रस ग्रिनिङ्ग नाम रोग सार्ने र सोहि रोगका कारण तल्लो क्षेत्रको सुन्तलाको बगान नष्ट हुने गरेको छ । पहिले पहिले एक हजार मिटर भन्दा तल्लो क्षेत्रमा मात्र हुने यो किरा अहिले समुद्र सतहवाट १२ सय मिटरको उचाइ सम्म पाउने गरेको राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारीपात्लेले जनाएको छ । जसका कारण तल्लो क्षेत्रको बगान नष्ट भएको अनुसन्धान कार्यक्रम पारीपात्लेका प्रमुख बसन्त चालिसे बताउनु हुन्छ । “एक त सुन्तला चिसो स्थानमा हुने फल हो अहिले एक त तल्लो क्षेत्रमा तापक्रम बढि हुन थालेको छ अर्को कारण सिट्रस सिल्लाले सिट्रस ग्रिनिङ्ग नाम रोग सारेर वगान नष्ट गरेको छ” प्रमुख चालिसे भन्नु हुन्छ । जलवायू परीवर्तनकै कारण अहिले स्याउहुने उचाईमा सुन्तला फलन थाल्यो अनी सुन्तला हुने स्थानमा आँप चालीसे थप्नु हुन्छ ।


COMMENT

.